काठमाडौँ, १६ चैत
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रयोग गर्ने अनुमति पाएको हात हतियार छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ । शुक्रबार गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ ।
समितिमा गृहमन्त्रालयको कानून शाखामा कार्यरत उपसचिव ऋषि पौडेल, नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् । यस्तै सदस्य सचिवमा गृहकै उपसचिव एकदेव अधिकारी रहेको गृह प्रशासनले जनाएको छ ।
गत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित दुर्गा प्रसाईंको अंगरक्षक दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । उनीहरुले दुर्गा प्रसाईंले अनुमति लिएकाे हतियार बाेकेका थिए ।
यस्तो छ छानबिन समितिको कार्यादेश :-
१. जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नं. 10131 मा जारी भएको 22 बोर A354752 नम्बरको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारवाहीको सिफारिस गर्ने ।
२. व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त गरेक हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने ।
३. हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्ने ।
४. इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न सो को अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने ।
५. हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने ।
६. क्र.सं. १ देखि ४ सम्म उल्लेखित विषयहरु समेटी राय सुझावसहितको प्रतिवेदन पेश गर्ने ।