काठमाडौँ, १६ वैशाख :
काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोग ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा यही वैशाख २३ गतेलाई पेसी तोकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा आइतबार पनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको हो ।
यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।