काठमाडौँ, १३ वैशाख
कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचारत जाजरकोटका गणेशमान सिंहको सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको साइबर ब्यूरोले दाबी गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै गणेशमानले हस्पिटलको बेडबाट प्रसारित गरेको भिडियोमा कुनै सत्यता नभएको जनाएको हो । उनले २० ट्याब्लेट प्यारासिटामोल एकैपटक खाएको ब्यूरोको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ब्यूरोको विज्ञप्तिमा भनिएको छ–‘ भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’
इलामको होटलबारे सिंहले ऋषिराज झा नामको फेसबुक आइडीबाट अश्लील सामग्री पोष्ट गरेको र त्यसबारे अनुसन्धान गर्न उनलाई बोलाएको ब्यूरोले जनाएको छ ।
प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएपछि सिंहले वैशाख १२ गते औषधि सेवन गरेको गरेको बताएका थिए ।
गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले बताएका छन् । सिंहले अस्पतालकै बेडबाट भिडियो सार्वजनिक गर्दै भिडियोमा भनेका छन्–‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’
उनको अहिले कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षमा उपचार भइरहेको छ ।