राजविराज, २२ वैशाख
सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडित ७५ वर्षीया लोखनीदेवी यादवको परिवार छिमेकीबाट मागेर ल्याएको पुरानो त्रिपालमुनि बसिरहनुभएको छ । उहाँको परिवारलाई दिन र रात कटाउन मुस्किल परेको छ ।
आगलागीबाट पूर्णरुपमा घर जलेपछि चर्को घाममा पालमुनि बस्दा गर्मीले सताउने र राति सुत्न, बस्न समस्या हुने गरेको उहाँले दुखेसो गर्नुभयो । वैशाख महिनामा दिउँसो हावाहुरी चल्न थालेपछि जीउभरि धुलो हुने गरेको उहाँले बताउनुभयो । उहाँले समस्या समाधानका लागि सरकारलाई सहयोगको आग्रह गर्नुभयो ।
अर्का अग्निपीडित दुर्गाप्रसाद यादवले सर्वस्व आगोमा जलेपछि गुजारा गर्ने कुनै उपाय नरहेको बताउनुभयो । उहाँले च्युरा, मुरहीबाहेक अन्य कुनै राहत नपाएको गुनासो पोख्नुभयो ।
७५ वर्षीया अग्निपीडित दुखनीदेवी यादवले बस्ने, खाने, सुत्ने केही उपाय नरहेपछि खेतमा त्रिपाल टाँगेर बस्न बाध्य भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा पातलो त्रिपालमा छ जना छोरी, एउटा छोरा र नातिनातिनालाई कसरी सुरक्षित राख्ने भन्ने चुनौतीे छ ।” आगलागीमा परेको पाँच दिन बित्दासमेत दुईचार केजी च्युरा, मुरहीबाहेक केही नपाएको उहाँको गुनासो छ ।
वडाअध्यक्ष जयकिशोर दासले पहिलो चरणमा राहतस्वरुप चाउचाउ, मुरही, चिउरा, पानी अग्निपीडितलाई वितरण गरिएको जानकारी दिनुभयो । अग्निपीडितलाई राहत जुटाउने कार्य जारी रहेको उहाँको भनाइ छ । महादेवा गाउँपालिकाले विभिन्न सङ्घसंस्था र स्थानीय प्रशासनसँग पहल गरी रहेको जनाएको छ ।
स्थानीय शत्रुधन यादवको गाईगोठमा राखेको परालको थुप्रोबाट गत मङ्गलबार दिउँसो सल्किएको आगो निभाउन नसक्दा महादेवा गाउँपालिका–१ चिम्टीका ६२ परिवारको एक सय १४ घर जलेको थियो । जिल्ला प्रशासन कार्यालयले चिम्टीमै सहायता कक्ष स्थापना गरेको छ ।