काठमाडाैं जेठ ३,
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख जयसवालसहित ८ जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
नगरपालिकाको देवापुरमा पोखरी ठेक्का लगाउँदा ७ वटा फर्मको ठेक्का परेकोमा सम्झौता नगरी धरौटी रकम फिर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/७६ मा देवापुर माछा पोखरी ठेक्कामा ७ वटा फर्मले टेन्डर फर्म भरेकोमा उक्त ठेक्काको सम्झौता नभइ ठेक्कामा कबोल गर्ने तेश्रो, चौथो, पाँचौं, छैठौं र सातौं फर्मको धरौटी फिर्ता गर्न तोकआदेश गरेको पाइएको छ ।
त्यसै गरी सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका अर्का तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्का व्यवस्थापन गर्दा अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।
जायसवालले पुनः सूचना प्रकाशन गर्दा सार्वजनिक पोखरी संरक्षण समितिको सिफारिस तथा नगरप्रमुखको तोकआदेशका आधारमा ठेक्काको सूचनामा न्यूनतम कबोल अङ्क शुरुको ठेक्काको रकमलाई आफूखुशी घटाएको पाइएको अख्तियारले जनाएको छ ।
कुनै पनि सिफारिस तथा निर्णयसमेतको अनदेखा गरी आफूखुसी एकल निर्णय गरेर ठेक्काको न्यूनतम अंक पहिलेको भन्दा कम गराएर ९ लाख ९५ हजार रुपैयाँ राजश्व असुल गरेकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
नगरपालिकाका इन्जिनियर अजित कुमार गुप्ता र असिस्टेन्ट सवइन्जिनियर दिनेशकुमार, लेखा अधिकृत समरेन्द्रप्रसाद चौधरी, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथप्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरुविरुद्ध १० लाख ८ हजार ९ सय रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।