काठमाडौं फागुन २२,
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले खराब सुरुआत गरेको छ ।
सोमबार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर ५९ रन मात्र जोडेको छ ।
नेपालको स्कोर बोर्डमा १४ हुँदा पहिलो विकेटका रूपमा ओपनर आसिफ शेख पभेलियन फर्किएका थिए । नेपालले ३४ रन जोड्दा दोस्रो विकेटका रूपमा अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । ४९ रन जोड्दा नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमायो । यसपछि केही लयमा देखिएका कुशल मल्ललाई नेपालले ५९ रन जोड्दा चौथो विकेटका रूपमा गुमायो ।
नेपालका ओपनर आसिफ ६ रनमा, ज्ञानेन्द्र ११ रनमा, रोहित एक रनमा र कुशल मल्ल ३२ रनमा आउट भए ।
नेपालसँगै यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित शृंखलाको यो अन्तिम खेल हो । यसअघि, नेपाल यूएईविरुद्धको पहिलो खेलमा ६८ रनले पराजित भएको थियो । नेपालले पीएनजीविरुद्ध भने दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा तीन विकेटले हराएको थियो ।
यूएई भने पीएनजीविरुद्धको दुवै खेलमा पराजित भएको थियो । आइतबार सम्पन्न खेलमा पनि यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।