१ माघ, काठमाडौं ।
जेन्जी मुभमेन्ट नेपालले रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै आपत्ति जनाएको छ ।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएकोप्रति आपत्ति जनाउँदै जेनजी मुभमेन्टले शक्तिको दुरुपयोग भएको आरोप लगाएको छ ।
मुभमेन्टका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गर्दै शक्तिको दुरुपयोग गर्ने महान्यायाधिवक्त सविता भण्डारीलाई बर्खास्त गर्न मागसमेत गरेका छन् ।
उनले जेनजी आन्दोलन र शहीदहरुको बलिदानीले बनेको सरकारले नै अपराधीको संरक्षण गरेको आरोप लगाउँदै यो कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको बताएका छन् ।
‘जेन्जी मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र उहाँले नियुक्ति गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिने कार्यले कानूनको सर्वोच्चता कमजोर पारेको आरोप लगाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्य लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको मुभमेन्टको ठहर छ ।’
जेन्जी मुभमेन्टले कुनै पनि अपराधीलाई दिइने उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमान भएको बताएको छ । ‘कानून सबैका लागि समान हुनुपर्छ, शक्तिशालीका लागि छुट र पीडितका लागि मौनता स्वीकार्य छैन’, विज्ञप्तिमा भनिएको छ ।
जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आह्वान गरेको ।






