काठमाडौं, पुस ३०-
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो ।
पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए । तर, थापा र शर्मा सहभागी केन्द्रीय समितिको बैठकले नै पार्टीको नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो । उनीहरूले उक्त निर्णयमा फरक मत राखेका थिए ।
विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।
पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन । विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिए । सोहीअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ । निर्वाचन समितिले अन्य पदाधिकारीमा पनि मनोनयन भइसकेको बताएका छन् ।






