चितवन, फागुन २१–
चितवनमा विहान ७ बजेदेखि नै मतदान जारी छ । शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन बिरोधी गतिविधि गर्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
आज दिउँसो भरतपुरको नारायणी नमुना मावि अगाडि चुनाव बहिष्कारको पम्प्लेटसहित बिरोध प्रदर्शन गर्ने क्रममा दुई जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारीले गणेश अर्यालले जानकारी दिए । पक्राउ पर्नेमा नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र अखिल क्रान्तिकारीका जिल्ला संयोजक किरण गौतमलाई पक्राउ गरिएको हो ।
यस्तै चितवन क्षेत्र नं.३ अन्तरगतको माडी नगरपालिकास्थित माडी माध्यमिक विद्यालय मतदानस्थलका एक जना कर्मचारी पनि पक्राउ परेका छन् । कार्यालय सहयोगी बुद्धि सागर पौडेलले मतदातालाई प्रभावित पार्ने गरी कुनै एक पार्टीको पक्षमा भोट माग्न थालेपछि नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।








