काठमाडौं,फागुन २१ –
नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका बस्नेतले आज बिहान सूर्यविनायक नगरपालिका ७ नम्बर वडा कार्यालयको गुण्डु मतदान केन्द्र पुगेर मत हालेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले बालेन शाह र रवि लामिछानेप्रति आरोप लगाएका छन् । उनले १४ हजार कैदी भगाउने विषयमा बालेन शाह र रवि लामिछानेको मुख्य हात रहेको दाबी गरे ।
बस्नेतले भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको जिकिर गर्दै लोकप्रिय नेताहरूलाई हराउनका लागि बालेन शाह झापा गएको आरोप लगाए । उनले बालेन शाह आफ्नो जन्मस्थान वा हुर्केको स्थानबाट उम्मेदवार हुनु स्वाभाविक भए पनि गलत ढंगले झापा पुगेको टिप्पणी गरे ।
उनले भने, ‘१४ हजार कैदीहरु भगाउने कुरामा बालेन शाह र रवि लामिछानेको मुख्य हात छ । भदौ २३ र २४ गते देशमाथि आक्रमण भएको छ । पपुलर नेतालाई हराउन बालेन झापा गएका छन् यो जनताले रुचाएका छैनन् । उनी जन्मेको वा हुर्केको ठाउँमा उम्मेदवार हुने कुरा स्वभाविक थियो तर गलत ढंगले झापा पुगे । त्यो कुरा झापाली जनताले स्वीकार गर्दैनन् ’








