महोत्तरी, फागुन १६ –
आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै चुनावी सरगर्मी बढेको छ । मतदानका लागि अब केही दिनमात्र बाँकी रहँदा उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । तर यसैबीच महोत्तरीका आम सर्वसाधारण भने यसपालि हिउँदे वर्षा नहुँदा चाँडै पानीको सङ्कट पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । फागुनको तेस्रो साता बितिसक्दासम्म हिउँदे वर्षा नहुँदा किसान र स्थानीय बासिन्दामा चिन्ता थपिएको हो ।
“खै, हिउँद बित्नै लाग्यो, पानी पर्ने छाँट देखिन्न । यो हिउँदमा पानी नपरे बालीनाली मात्र होइन, एकाध महिनाभित्रै खानेपानीकै सङ्कट पर्लाजस्तो छ,” गौशाला नगरपालिका–१ का सुरेन्द्र महतो भन्नुहुन्छ, “हिउँदे वर्षा नभए यहाँका पानीका मुहान चैतमै सुक्ने छन् ।” उहाँका अनुसार केही दिनभित्रै पानी नपरे नयाँ वर्ष २०८३ को सुरुआतमै पानीको हाहाकार हुनसक्छ । विगतमा हिउँदे वर्षा नभएको वर्ष चैतमै खोल्साखोल्सी, जरुवा, नदीका मुहान, इनार र चापाकल सुक्दा खानेपानीको सङ्कट व्यहोर्नुपरेको स्थानीय बासिन्दा सम्झन्छन् । यही चिन्ताले चुनावी उत्साहसमेत जाग्न नसकेको गौशाला–१ कै गणेश महतो बताउनुहुन्छ ।
गाउँ–नगरमा चुनावी प्रचारप्रसार तीव्र भए पनि किसान र सर्वसाधारण त्यसमा रमाउन सकेका छैनन् । हिउँदे वर्षा नहुँदा चैतीबाली राम्रोसँग नफस्टाउने चिन्ता किसानमा छ । “यसपालि पानी नपरी हिउँद बित्दैछ, रवि ९चैती० बालीका बोट पानीबेगर ओइलिन थाले”, बर्दिबास–६ किसाननगरका ६५ वर्षीय कुलबहादुर भुजेल भन्नुहुन्छ, “चैत नबित्दै पानीको हाहाकार पर्लाजस्तो छ ।” उहाँका अनुसार पानी नपर्दा उत्तरी भेगका वैशाखी सागसब्जीका बोटसमेत सुक्न थालेका छन् । भुजेलका छिमेकी ७५ वर्षीय जगन्नाथ महतो पनि जग्गा सुक्दै जाँदा सागसब्जी उत्पादनमा असर परेको बताउनुहुन्छ ।
चुनावी चहलपहल बढे पनि किसानको ध्यान खेतबारीमै छ । “हाम्रा दुःख हामीसँगै छन्, पानीबेगर सुक्दै गएको बाली हेरेर कसरी चुनावले मन तान्ला रु” भुजेलको प्रश्न छ । बर्दिवास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादवले पनि सिँगो हिउँद पानी नपरी बित्न लागेकोमा विरक्ति व्यक्त गर्नुभयो । “मजरदै आँपलाई मधुवा रोगबाट जोगाउन वर्षा चाहिन्छ,” उहाँ भन्नुहुन्छ, “तर पानी नपरी गर्मी बढ्न थाल्यो ।” यसले पानीको सङ्कट थप गहिरिने लक्षण देखिएको उहाँको भनाइ छ ।
बर्दिवास–९ पशुपतिनगरका ७० वर्षीय विसुनदेव महतोका अनुसार मौसमको वर्तमान सङ्केतले खडेरीको जोखिम बढाएको छ । गत वर्षको खडेरी सम्झँदै उहाँ यसपालि पानी र अन्न दुवैको सङ्कट आउनसक्ने आशंका व्यक्त गर्नुहुन्छ ।
भारतसँग सीमा जोडिएको दक्षिणी भेगमा पनि अवस्था उस्तै छ । जलेश्वर–५ चौरियाका ७५ वर्षीय किसान रहिमन मण्डल भन्नुहुन्छ, “खेतीपाती अनुकूल भए न खुसी हुन्छ, विरक्तिएको मनमा के चुनावको रमाइलो हुन्छ र रु” उहाँका अनुसार गहुँको बालामा दाना पोटिलो हुन नसकेको र आँपको मञ्जरीमा मधुवा रोगको जोखिम बढेको छ ।
सोनमा–५ का रामप्रताप यादव भन्नुहुन्छ, “चुनावले जीवन बदलिए न चासो हुन्छ । भोट त हालिरहेकै छौँ, तर खेतबारीले न सिँचाइ पायो, न समयमा बीउमल ।” किसानका अनुसार पछिल्ला वर्षमा प्रकृति पनि प्रतिकूल बन्दै गएको छ । भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल भन्नुहुन्छ, “पहिले हिउँदमा एक पटक पानी परे बालीनालीदेखि गर्मीमा खानेपानीको समस्या हुँदैनथ्यो । अहिले भने हिउँदभरि पानी नपर्दा चैतमै मुहान सुक्न थालेका छन् ।”
हिउँदे वर्षा नहुँदा जमिनमुनिको पानीको सतह गहिरिँदै जानु र स्रोतका मुहान चैतमै सुक्नु यहाँको दीर्घकालीन समस्या बनेको छ । उत्तरी क्षेत्रमा खोल्साखोल्सीको जरुवा पानी र इनार मुख्य स्रोत हुन् भने मध्य तथा दक्षिणी भेगमा चापाकलमा निर्भरता बढी छ ।
चुनावका बेला भोट माग्न आउने उम्मेदवारलाई यी समस्या सुनाइए पनि समाधानप्रति विश्वास जाग्न नसकेको किसान बताउनुहुन्छ । “हामीले भोट दिँदै आएका छौँ, दुःख सुनाएकै हौँ,” गौशाला–४ का रिझन साह भन्नुहुन्छ, “चुनाव नहुँदासम्म आशा हुन्छ, सकिएपछि फेरि जस्ताको त्यस्तै ।”
पाका किसानका अनुसार वन, चुरे क्षेत्र र नदीकिनारमा बढ्दो उत्खनन तथा अतिक्रमणले प्राकृतिक सन्तुलन बिग्रिँदा वर्षा चक्र प्रभावित भएको छ । यसपालिको निर्वाचनमा विकासका गफभन्दा प्राकृतिक स्रोत संरक्षण र समुचित प्रयोगबारे ठोस प्रतिबद्धता आवश्यक रहेको बर्दिवास–८ हात्तीलेटका ६० वर्षीय जगदीश काफ्लेको धारणा छ । रासस








