काठमाडौं, १५ फागुन –
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ खोज्दा देशले निकास पाउँछ कि पाउँदैन भन्ने कुराको ख्याल राख्न मतदातासँग आग्रह गरेका छन् । शुक्रबार पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।
‘कतिपयलाई लागेको छ नयाँ खोजौँ । नयाँ खोज्दै गर्दा २०६४ सालमा माओवादीलाई झन्डै झन्डै दुई तिहाइ दिएर संसदमा पुर्यायो,’ शर्माले भने, ‘नयाँलाई खोज्दै गर्दा यो देशले २०६४ सालमा जुन गल्ती गर्यो, त्यस्तै गल्ती गर्ने, या २०७० सालमा झैँ विवेक पुर्याउने छनोट गर्नुपर्ने बेला छ ।’
०६४ को नयाँले देशलाई बाटो नदिएपछि २०७०मा कांग्रेसलाई सबैभन्दा ठुलो दल बनाएपछि मात्रै देशले दुई वर्षमा संविधान पाएको उनले बताए । ‘त्यसैले अहिले बिलकुल संयमताका साथ बुझ्नुपर्नेछ,’ उनले भने । अहिले देशलाई कसले नेतृत्व गर्ने भन्ने कुरा मूल प्रश्न नभएको पनि उपसभापति शर्माले बताए ।
‘मूल प्रश्न सिंहदरबारमा नेतृत्व गरेर २३ र २४ गतेपछिको आँधी हुरी तुफानलाई व्यवस्थित पारेर कसले साम्य पार्न सक्छ भन्ने हो,’ उपसभापति शर्माले भने ।








