डुम्रे (तनहुँ), फागुन १६ –
मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको १२ वर्ष बित्यो । प्रत्येक निर्वाचनमा राजनीतिक दलको मुद्दा बन्ने यो घुमाउने पुल यसपाली पनि सबैको चासोको विषय बनेको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने यो पुल अहिले निर्माणाधीन अवस्थामा छ । यही विषयलाई आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरुले आफ्नो प्राथमिकतामा राखेका छन् ।
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ केही दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिदै गर्दा मत आफ्नो पक्षमा पार्न तनहुँ क्षेत्र नं।१ प्रतिनिधिसभा सदस्य उम्मेदवारले प्राथमिकतामा राखेका हुन् ।
पुल निर्माण समयमै सम्पन्न नहुनुको मुख्य कारण फरक छ । दुई वर्षअघि दुवैतर्फ पिल्लर ठड्याइए पनि बाढीका कारण नदीको सतह बढ्दाका अवस्थामा समस्या हुने देखिएपछि सच्याउने उद्देश्यले डिजाइन परिवर्तनको प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
सडक डिभिजन कार्यालय दमौलीका डिभिजन प्रमुख राजीव श्रेष्ठले पहिले मुग्लिङको जस्तै आर्क डिजाइनमा पुल बनाउने योजना रहे पनि आर्कको आधार बस्ने ठाउँमै बाढीले क्षति पु¥याएपछि डिजाइन परिवर्तन गर्नैपर्ने बाध्यता आएको बताउनुभयो ।
निर्माण कम्पनीले गत वैशाखमा नयाँ डिजाइनको प्रस्ताव पेस गरेको छ । जसमा अहिले बनिसकेका पिल्लरको उचाइ थप गरी स्टिलको संरचना वा स्ल्याप राख्ने गरी नयाँ नक्सा विभागमा अध्ययनको क्रममा रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
पुल निर्माणमा भएको ढिलाइले लागत र समय दुवै बढाएको छ भने सुरुमा लागत वृद्धिको विषयमा सडक विभाग र निर्माण कम्पनीबीच समदारी नमिले पनि अन्ततः कम्पनीकै लगानीमा परिवर्तित डिजाइन पेस गरिएको उहाँले बताउनुभयो । “हालसम्म योजनाको भौतिक प्रगति मात्र ३६ प्रतिशत रहेको छ र विसं २०८३ असार मसान्तसम्म निर्माण सक्ने गरी पछिल्लो पटक म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो ।
दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यस पुलको सम्झौता विसं २०७० असार २८ गते भएको थियो । सडक डिभिजन कार्यालय दमौलीका अनुसार विसं २०८० असोजमा आएको भीषण बाढीले सुरुको अनुमानभन्दा माथिको सतहलाई असर गरेपछि पुरानो ‘आर्क’ डिजाइनमा काम गर्न नसकिने देखिएको हो ।
चितवनको घुमाउनेबाट बुद्धसिंहमार्ग हुँदै दमौली पुग्न मुग्लिङ–आँबुखैरेनी सडकभन्दा २६ किलोमिटर दूरी छोटो पर्ने भएकाले नारायणगढबाट पोखरातर्फ जाने सवारीसाधनका लागि यो निकै छिटो र वैकल्पिक मार्ग मानिन्छ । १०५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने यस पुल रु १० करोड २१ लाख ८६ हजार ५५१ को लागतमा मृत सञ्जीवनी कम्पनी मकवानपुरले ठेक्का पाएको छ ।
लामो समयदेखि पुल अलपत्र परेपछि स्थानीय अत्यन्तै आक्रोशित अवस्थामा छन् । बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी बिर्खमाया गुरुङले भन्नुभयो, “पुल नबन्दा यस क्षेत्रको आर्थिक र सामाजिक विकास ठप्प भएको छ ।” पुल निर्माण सम्पन्न नभएसम्म आगामी निर्वाचनमा कुनै पनि दललाई भोट नहाल्ने र मतदान नै बहिष्कार गर्ने सम्मको निर्णयमा स्थानीय पुगेका उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्ने यो महत्वपूर्ण कडी भए पनि प्राविधिक ढिलासुस्ती र प्राकृतिक अवरोधका कारण स्थानीयले लामो समयदेखि सास्ती भोगिरहनु परेको छ । पुल निर्माणको जिम्मा लिएपछि मात्रै प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने भएपछि अधिकांश उम्मेदवारले पहिलो प्राथमिकता दिएर अजेण्डा तय गरेर आमनागरिकसमक्ष पेस गरिरहेका छन् । तर, पुलका परिवर्तित डिजाइन आएपछि भने निर्माण कार्यले निरन्तरता पाउने अपेक्षा डिभिजन कार्यालयको छ । रासस








