काठमाडौँ, १९ मङ्सिरः
राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ ।
चार खेलबाट आठ अङ्क जोड्दै लुम्बिनी प्लेअफ पुग्दा जनकपुरसहित पोखरा र चितवन लिग चरणको अन्तिम खेल्न बाँकी छँदै बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम, काठमाडौँ र विराटनगर प्लेअफमा सुरक्षित भइसकेका छन् ।
आजको जितमा लुम्बिनीका कप्तान रोहित पौडेलले म्याच विनर पारी खेले । उनी प्लेयर अफ दी म्याचसमेत चुनिए । जितसँगै प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले सञ्चारकर्मीसँग उत्साहित भएको प्रतिक्रिया दिए ।
उनले भने, “प्लेअफ पुग्दा एकदमै खुसी छौँ । अबका खेलमा राम्रो गरेर उपाधि जित्छौँ भन्ने लागेको छ ।” आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै उनले सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे । उनले भने, “अबका खेलहरू भनेका नकआउट जस्तै हुन् । कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन ।”
जनकपुर बोल्ट्स कप्तान जान निकोल लफ्टि इटनले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताउनुभयो ।









