काठमाडौँ, ३ माघ
महँगो ब्रान्डेड रक्सीको बोतलमा लोकल रक्सी मिसाएर बेच्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा नक्कली रक्सी बनाउने कारखाना फेला परेको हो । उक्त कारखानामा मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि-पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू फेला पारेको प्रहरीको भनाई छ ।
काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो । सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो ।
प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर पठाएको छ ।








