काठमाडौं फागुन ५
दीपेन्द्रसिंह ऐरीले फिनिसिर भूमिका पूरा गर्दा आईसीसी टी–२० विश्वकपमा नेपालले स्कटल्यान्डलाई सात विकेटले हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
विश्वकपमा नेपालले यो १२ वर्षपछि निकालेको थियो । नेपालले यसअघि पछिल्लो पटक सन् २०१४ मा अफगानिस्तानविरुद्ध नौ रनको जित निकालेको थियो । मंगलबार भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले १९।२ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनले २३ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए ।
विश्वकपमा नेपालबाट यो नै सबैभन्दा छिटो बनेको अर्धशतकसमेत हो । दीपेन्द्र विश्वकपको इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने । उनले यसअघि वेस्ट इन्डिजविरुद्ध ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले ७१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
कुशलले ३५ बलमा एक चौका र चार छक्कासहित ४३ रन बनाए । आसिफले २७ बलमा दुई छक्कासहित ३३ रन थपे । नेपालको जितमा दीपेन्द्रसँगै अविजित रहेका गुल्सन झाले १७ बलमा एक चौका र दुई छक्कासहित २४ रन बनाए । स्कटल्यान्डका माइकल लियस्कले तीन विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो । स्कटल्यान्डका ओपनर माइकल जोन्सले ७१ रनको अर्धशतकीय इनिङ खेले ।
जोन्सले ४५ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । उनले पहिलो विकेटको निम्ति अर्का ओपनर जर्ज मुन्सेसँग ८० रनको अर्धशतकीय साझेदारी गरेका थिए । ओपनर जर्ज मुन्सीले २७ रन जोडे । २९ बलमा मुन्सीले चार चौका प्रहार गरे । ब्रान्डन म्याकमुलेनले २५ रन जोडे । १५।४ ओभरमा आउट भएपछि म्याकमुलेन र ओपनर जोन्सबीचको अर्धशतकीय साझेदारी तोडिएको थियो । उनीहरुले १०औँ ओभरदेखि १५।४ ओभर सम्म खेल्दै ५२ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।
कप्तान रिची बेरिंगटन र अविजित रहेका मार्क वाटले १० रन बनाए । नेपालका सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोम्पालले २५ रन खर्चिए । कप्तान रोहित पौडेल, नन्दन यादव र कुशल भुर्तेलले समान एक विकेट लिए । जितसँगै नेपालले दुई अंकसहित विश्वकप यात्रा टुंग्याएको छ । नेपाल यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग खेल्दा क्रमशः चार रन, १० विकेट र नौ विकेटले पराजित भएको थियो ।
स्कटल्यान्डले पनि दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको छ । स्कटल्यान्डले यसअघि इटालीलाई ७३ रनले पराजित गर्दा वेस्ट इन्डिजसँग ३५ रन र इंग्ल्यान्डसँग पाँच विकेटले हारेको थियो । स्कटल्यान्ड पनि समूह चरणबाटै बाहिरिएको छ ।








