काठमाडाैं, असार ५
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भ्यूटावरका नाममा एमालेका नेताले देशैभर खरबौं रुपैयाँ खर्चिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बुधबार युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै ढकालले स्टेडियममा खर्च गर्नुपर्ने खरबौं रुपैयाँ किन स्टेडियममा नहालेको भन्दै प्रश्न उठाएका हुन् ।
‘हामी खेलकुद क्षेत्रको बजेट बहसमा छौं । विश्वमा हंगेरीले सबैभन्दा बढी बजेटको ५ प्रतिशत खेल क्षेत्रमा लगाउँदो रहेछ । तर हाम्रोमा ०.१९ प्रतिशत मात्रै बजेट खेलकुदले पाएको छ,’ उनले भने ।
बजेटमा पैसा किन कम भनेर एमालेका नेतालाई प्रश्न गर्नुपर्ने उनले बताए ।
‘युवा र खेलाडीलाई त पैसा हुँदै हुँदैन । एमालेका सांसदहरूलाई सुन्न आग्रह गर्छु । स्टेडियम बनाउने पैसा हुँदैन भन्नुहुन्छ । अलि पहिला तपाईं देशैभरका भ्यूटावर हेर्नुहोस् त खरबौंको ? असरल्ल छन् ।,’ प्रश्न गर्दै ढकालले भने, ‘यति पैसाले कति वटा स्टेडियम बन्थ्यो होला देशभर ?’
गलत काम गरेपछि एमालेका नेताहरूले यो अवधारणा गलत भएको भन्दै माफी माग्नुपर्ने उनले बताए ।
‘अब सदनमा आएर भ्यूटावरको कन्सेप्ट गलत थियो भनेर बोल्नुपर्छ । किनकी संसद् सत्य देखाउने ठाउँ हो,’ उनले भने ।
खेल मन्त्रालयका कर्मचारीले अनुगमनसहितका कार्यक्रमको नाममा आफूहरूकै पार्टीका मन्त्रीलाई जातेपिङ खेलाइदिएको पनि बताए ।








