काठमाडौँ, २५ माघ :
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सके उपचार गरेर निको हुने बताएकी छन् ।
आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी) खोप अभियानको भिडियो सन्देशमार्फत सफलताको शुभकामना दिँदै उनले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गरिन् ।
उनले ३० वर्ष भन्दामाथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउनसमेत अनुरोध गरिन् ।
“पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो । उक्त भाइरसविरुद्धको खोपबाट यो रोग रोकथाम गर्न सकिन्छ”, मन्त्री डा. गौतमले भनिन्।
पाठेघरको मुखको क्यान्सरलाई नेपालमा निवारण गर्ने उद्देश्यले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियानअन्तर्गत सञ्चालन गर्दै आइएको उनले बताइन्।








