चितवन, २५ माघः
चितवन क्षेत्र नम्बर २ की कांग्रेस उम्मेदवार मीना खरेलको घरदैलो अभियान निरन्तर चलिरहेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि आयोजना भएको घरदैलो अभियानमा आज भरतपुर महानगर वडा नम्बर १० मा सम्पन्न भएको हो।
उम्मेदवार खरेलको घरदैलो अभियानमा भरतपुर १० का बासिन्दाहरुको उल्लेखनीय जनसहभागिता देखिएको थियो। अभियानका क्रममा टोल–टोलमा पुगेकी खरेललाई स्थानीय बासिन्दाले उत्साहपूर्वक स्वागत गर्दै आफ्ना समस्या, गुनासा राखेका छन् भने जितको अग्रिम शुभकामना, आशिर्बाद दिएका छन्।
स्थानीय बासिन्दाहरूले यतिको महिला उम्मेदवार पाउनु हाम्रो भाग्यको कुरा हो भन्दै हाम्रो भोट यसपालि कसैलाई पनि जाँदैन नेपाली कांग्रेसलाई जान्छ तो मिना खरेललाई जान्छ भनेका छन्। यसपालि कांग्रेसलाई भोट हाल्न पाएका छौ। हामी विचलित नभई यसपालि हामीले हाम्रो उम्मेदवार मीना खरेललाई जिताउँनुपर्छ भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरु भन्छन्, कांग्रेस परिवर्तन भएर आएको छ, अब हामीले कांग्रेसलाई भोट हालेर देशलाई परिवर्तन गर्नुपर्छ।
घरदैलो अभियानका क्रममा खरेलले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा रोजगारीका विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै जनताको सुझावलाई प्राथमिकताका साथ समेट्ने बताइन्। उनले जनताको साथ, समर्थन र विश्वास नै आफ्नो अभियानको मुख्य एजेन्डा भएको उल्लेख गरिन्।
स्थानीय बासिन्दाहरूले खरेललाई सरल, महिला दिदीबहिनीको हक, हित, अधिकार, सशक्तिकरणका लागि सक्रिय नेतृको रूपमा चित्रण गर्दै यसपटक परिवर्तनको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन्। विशेषगरी महिला, युवा तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिताले अभियानलाई थप प्रभावशाली बनाएको थियो।
उनले निर्वाचित भएमा समग्र विकासका लागि इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आगामी दिनहरूमा पनि घरदैलो अभियानलाई निरन्तरता दिँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने उनले बताइन्।








