काठमाडाैं, असार ४
गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुँदैछ । उक्त रिट न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासको पहिलो नम्बरमा पेशी तोकिएको छ ।
सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । शुरूमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिटमाथि यसअघि पनि सर्वोच्चमा सुनुवाइ भइसकेको छ ।
यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रवि जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगीविरुद्ध परेका उजुरी पेश गर्न आदेश गरेको थियो ।
यस्तै, बुटवलको सुप्रिम सहकारी ठगीविरुद्ध जिल्ला अदालतमा पेश गरिएको मिसिल झिकाउन पनि सर्वोच्चले आदेश गरेको थियो ।








