काठमाडौँ, २४ जेठ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतले निर्दोष सावित गरेपछि सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन् । समयमै भिसाको वातावरण बनाउन सरकार चुकेको उनले आरोप लगाए ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा महामन्त्री शर्माले अदालतबाट निर्दोष सावित गरेको समयमै सूचित गर्न सरकार चुकेको बताएका हुन् ।
‘हिजो आरोप लागिरहेको बेला मैदानमा उत्रिन हुन्न भन्ने थियो, अदालतले निर्दोष सावित गरेपछि यसबेला सन्दीप विश्वकपमा खेल्नु पर्थ्यो, आफ्नो खेलाडीबारे अदालतको फैसला सूचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल गर्नु पर्दथ्यो। यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ महामन्त्री शर्माले भने ।
विश्वकप आयोजक अमेरिकाले भिसा नदिएपछि सन्दीप विश्वकप खेल्न जान नपाएका हुन् ।