५ माघ, काठमाडौं ।
आगामी प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन उठ्ने तयारीमा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने प्रतिक्रिया दिएकी छिन् ।
सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी का्रममा उनले आफू यसपटकको निर्वाचनबाट तरंगित नभएको जिकिर गरेकी हुन् ।
यसअघि काठमाडौं–१ मा हेभिवेट नेता प्रकाशमान सिंहसँग भिडेरै आएको उल्लेख गर्दै अहिले पनि आफू नडराउने बताइन् ।
त्यतिबेला उनी आफू पराजित भएको भए पनि अहिले नडराउने बताएकी हुन् ।
‘कसै न कसैसँग त भिड्नैपर्छ । हिजो पनि भिडेरै आएको हो । हिजो पनि काठमाडौं–१ मा हेभिवेट प्रकाशमानसँग भिडेरै आएको हो । हो पराजित भएँ,’ दाहालले भनिन्, ‘भिड्नसँग डराउँदिन । हिजो पनि भिडेरै आएको हो । सामान्य चुनावमा डराउने कुरा होइन ।’
चितवन क्षेत्र नम्बर–३ मा रास्वपा नेतृ सोबिता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
यसैबीच उनले विभिन्न प्रसंग उठेको उल्लेख गर्दै यस्तो बताएकी हुन् ।
‘सोबिता कि रेणु भन्ने कुराहरू आइरहेका छन् । यहाँका दुईवटा नारी यसरी भिडाउन नहुने भन्नेखालका कुरा पनि आएका छन् । सोबिता उठाउँदैछ रे के हो भन्ने जिज्ञासा पनि छन्,’ उनले भनिन्, ‘सबै जना तरंगित भएजस्तो देखिन्छ । म चाहिँ तरंगित भएको छैन । कत्ति पनि तरंगित छैन । कार्यसम्पादनको हिसाबले कर्मको हिसाबले जनताले मूल्यांकन गर्ने हो ।’
चितवन क्षेत्र नम्बर ३ मा यसपटक हुन लागेको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।






