भरतपुर, २३ जेठ :
अमर मावि भरतपु महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको फाइनलमा प्रवेश गरेको छ।
भरतपुर ७ कृष्णपुरको मैदानमा आज सम्पन्न सेमिफाइनलमा नारायणी नमूना माविलाई १-० ले हराउँदै अमर मावि उपाधि नजिक पुगेको हो । उसको जितमा पुकार महतोले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोसो हाफको १८ औं मिनेटमा अमर माविका पुकारले निर्णायक गोल गरे । वसन्त कुमालको प्रहार नारायणी नमूना माविका गोलरक्षक किशोर हमालले बचाएका थिए । रिबाउण्डमा पुकारले कुनै गल्ती नगरी बललाई जाली चुमाए । उनी नै म्यान अफ दि म्याच भए ।
अमर माविले अब उपाधिका लागि बिहीबार हुने अर्को सेमिफाइनल खेलको विजेताको सामना गर्नेछ । जसमा विश्वप्रकाश मावि र आदिकवि भानु मावि भिड्नेछन् । यस अघि यो खेल मंगलबारका लागि तय थियो । तर मंगलबार भारी वर्षाका कारण स्थगित भएको उक्त खेल बिहीबारका लागि सारिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवं खेल संयोजक विजय घलेले जानकारी दिए ।