काठमाडौं माघ ०८
आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध ६४ रनको हार बेहोरेको छ ।
युवा विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले बेहोरेको यो पहिलो हार हो । यसअघि नेपालले सन् २००६ को संस्करण र २०१६ को संस्करणमा न्युजिल्यान्डविरुद्ध खेल्दा क्रमशः एक विकेट र ३२ रनको जित निकालेको थियो ।
आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर खेल्दै नौ विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो ।
नेपालका ओपनर अर्जुन कुमालले ९० रन बनाए पनि टिमको हार टार्न भने सकेनन् । उनले १०४ बलमा १२ चौका प्रहार गरे । अर्जुन युवा विश्वकपमै नेपालका लागि पहिलो शतक बनाउन १० रनले चुके । तर, उनी विश्वकपमा नेपालबाट एकै खेलमा उच्च स्कोर बनाउने दोस्रो ब्याटर बने ।
अर्जुनअघि रहेका प्रदीप ऐरीले यू–१९ विश्वकपमा ९८ रन बनाएका छन् । प्रदीपले २०१२ मा नामिबियाविरुद्ध यो स्कोर बनाएका थिए ।
न्युजिल्यान्डविरुद्ध कप्तान देव खनाल ३६ रन जोडेर आउट भए । सुवास भन्डारीले ३३, तिलक भन्डारीले १७, दीपक बोहराले १५ र आकाश चन्दले १४ रन थपे ।
अन्तिम विकेटका लागि सुवास र तिलक भन्डारीले ३७ रनको साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाएका थिए ।
नेपाललाई सस्तैमा समेट्न न्युजिल्यान्डका मासोन क्लर्कले तीन विकेट लिए । एवाल्ड श्रेउडर र ओस्कार ज्याक्सनले समान दुई विकेट लिँदा जाक कुमिङ र म्याट रोवेले एक–एक विकेट लिए ।
त्यसघि स्नेहिथ रेड्डीले शतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।
न्युजिल्यान्डबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति आएका रेड्डीले अविजित १४७ रन बनाए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।
६७–३ को नाजुक अवस्थामा ब्याटिङमा लागि आएका रेड्डीले कप्तान ओस्कार ज्याक्सनसँग १५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स सम्हालेका थिए । कप्तान ज्याक्सन ८१ बलमा तीन चौका र पाँच छक्कासहित ७५ रन बनाएर आउट भए ।
ओपनर टस जोनसले ३३, लुक वाट्सनले १४ र एलेक्स थप्सनले १३ रन थपे ।
नेपालका सुवास भण्डारीले तीन विकेट लिए । गुल्सन झाले दुई र दिपेश कँडेल, तिलक वर्मा र आकाश त्रिपाठीले समान एक विकेट लिए ।
प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले अब जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।