रत्ननगर, ४ माघः
पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३ औं संस्करणको १० दिनसम्म आइपुग्दा तीनलाखले महोत्सव अवलोकन गरेका छन् । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु भएको उक्त महोत्सव अन्तर्गत माघ १ गते एकै दिन ४५ हजारले अबलोकन गरेका थिए । माघ २ गते सम्म दुई लाखले अवलोकन गरेको सो महोत्सव तीन दिनमा एकलाखले अवलोकन गरेका हुन्।
माघ २ गते ४० हजार, ३ गते ३० हजार र ४ गते ३० हजारले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । संघका कोषाध्यक्ष विनोद घिमिरेले महोत्सव अबलोकनकर्ताको संख्या बढ्दै जाँदा टिकट विक्रीपनि अपेक्षाकृत नै रहेको बताए ।
महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भब्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अबलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र साँस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ । महोत्सव परिसरमाख महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।
विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । पर्यटन प्रर्वद्धन तर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव माघ ६ गते सम्म चल्ने छ ।
यसैबीच रत्ननगर उद्योग बाणिज्य संघले महोत्सव परिसरमै चितवन उवासंघको चिरन्जीवि सुवेदी नेतृत्वको नवनिर्वाचित टोलीलाई स्वागत गर्दै बधाई ज्ञापन गरेको छ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा संघका अध्यक्ष शंकर गिरी र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको हो । सो अबसरमा पूर्वअर्थमन्त्री पाण्डेले लगानी सुरक्षाको लागि राज्य जिम्मेवार हुनुपर्ने बताए ।
सरकारको पैसाले देश नबन्ने भन्दै उनले मुलुक निर्माणको लागि नयाँ उपायको खोजि गर्नुपर्ने बताए । कार्यक्रममा रत्ननगर उवासंघका अध्यक्ष गिरी र चितवन उवासंघका अध्यक्ष सुवेदीले व्यवसायी सुरक्षा तथा उद्यमशिलता विकासमा दुई संघ बीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए । संघका महासचिव उपेन्द्रशर्मा आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।






