काठमाडौँ, २६ पुस
नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको हाे ।
अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्याएको हुँदा निलम्बन गरिएको बताएका छन् । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै बुधबार लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो ।
आज बिहीबार विज्ञप्ति निकालेर क्यानले भनेको छ, “राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।”