काठमाडाैं मंसिर १,
भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारत र अस्ट्रेलिया भिड्ने भएका छन् । गए राति दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।
अस्ट्रेलियाले अब उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनल पुगेको हो ।
फाइनल खेल आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम हुनेछ । दुवै टिम २० वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा भिड्ने छन् ।
अस्ट्रेलिया प्रतियोगिताको सर्वाधिक उपाधि विजेता हो । उसले हालसम्म ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले सबैभन्दा धेरै १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।
भारतले यसअघि दुईपटक विश्वकप जितेको छ । भारतसँग विश्वकप जित्ने तेस्रो अवसर छ ।
भारतले महेन्द्र सिंह धोनीको कप्तानीमा सन् २०११ मा फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । पहिलोपटक सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतले विश्वकप जितेको थियो ।
तर, फाइनलमा अस्ट्रेलियालाई हराउन सहज भने हुनेछैन । अस्ट्रेलिया आठौंपटक फाइनलमा पुगेको हो । उसले पाँचपटक त उपाधि नै जितेको छ । भारत भने चौथोपटक फाइनल खेल्दै छ ।
सन् २००३ मा अस्ट्रेलियाले नै फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । सन् २००३ मा अस्ट्रेलिया(कंगारू)ले भारत (टिम इन्डिया)लाई १२५ रनले हराएको थियो । ३६० रनको लक्ष्य पछ्याएको भारत ३९.२ ओभरमा अलआउट भएको थियो । भारत २००३ को हारको बदला लिने तयारीसाथ मैदानमा उत्रनेछ ।
भारतले जारी विश्वकपमा सबै १० खेल जितेको छ भने अस्ट्रेलियाले १० मध्ये आठ जितेको छ ।
अस्ट्रेलियाविरुद्ध भारतको रेकर्ड पनि उत्साहजनक छैन । दुई टिम हालसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् । जसमध्ये ८३ खेल अस्ट्रेलिया र ५७ भारतले जितेको छ ।
विश्वकपमा दुई टिमबीच १३ खेल भएका छन् । जसमध्ये अस्ट्रेलियाले आठ र भारतले पाँच खेल मात्रै जितेको छ ।
घरेलु मैदानमा भने भारतले कडा टक्कर दिने गरेको छ । भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा भारतले ३३ खेल जितेको छ । यही वर्ष खेलिएका ७ मध्ये भारतले चार खेल जितेको छ ।
जारी विश्वकपमा भारतका विराट कोहलीले सबैभन्दा धेरै रन बनाएका छन् । रोहित शर्मा र श्रेयस अय्यर पनि लयमा छन् । अस्ट्रेलियाका डेविड वार्नर, ग्लेन मैक्सवेल र मिशेल मार्श पनि राम्रो लयमा छन् ।