काठमाडाैं कात्तिक १४,
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेलमा घरेलु टोली नेपालले आज (मंगलबार) मलेसियासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे शुरू हुनेछ ।
सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि अलराउन्डर दिपेन्द्र सिंह ऐरले आजको खेल गुमाउनेछन् ।
घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँदैछ । नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।
आजको पहिलो खेलमा टियु क्रिकेट मैदानमा बिहान ९ बजे सिंगापुर र ओमान खेल्नेछन् । उता मुलपानीको पहिलो खेलमा हङकङले बहराइनसँग खेल्नेछ । मुलपानीमा दोस्रो खेलमा कुवेत र युएई भिड्नेछन् ।