काठमाडाैं, असोज ७
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि स्थगित भएको छ ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दा आज पनि स्थगित भएको हो । सर्वोच्च अदालतले यो मुद्दालाई छिटो टुंग्याउन आदेश दिएको थियो, तर मुद्दाको सुनुवाइ निरन्तर लम्बिँदै/सर्दै आएको छ ।
न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशबाट कारागारमुक्त भएका हुन् ।