चितवन, २ माघः
चितवनमा जिल्ला स्तरीय सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु भएको छ । नेपाल सितोरियो सोवुकान कराते डो संघको आयोजनामा भरतपुर कभर्ड हलमा उक्त दिक्षान्त कार्यक्रम सुरु भएको हो ।
माघ ४ गतेसम्म चल्ने कार्यक्रमको आज (शुक्रबार) प्रमुख अतिथि चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । सो क्रममा कार्कीले खेलाडीहरुलाई शुभकामना दिए ।
खेलाडीहरु दिक्षित हुनु आँफैमा एउटा उपलब्धि भएको उनको भनाइ थियो । उनले खेलाडीहरुलाई आफूले सिके जानेका ज्ञान सिपबाट नव प्रतिभाहरुलाई प्रेरित गर्न पनि आग्रह गरे ।
तीन दिनसम्म चल्ने दिक्षान्त समारोहमा चितवन र छिमेकी जिल्लाबाट एक सय ५० भन्दा बढी खेलाडीहरु सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षा सम्बन्धि प्रशिक्षण दिईनेछ । प्रशिक्षणपछि उनीहरुलाई फर्स्ट डन, सेकेन्ड डन र थर्ड डनबाट दिक्षित गरिनेछ ।
उनीहरुलाई नेपाल सितोरियो सोवुकान कराते डो संघका प्रशिक्षक सजन श्रेष्ठले मुख्य प्रशिक्षक तथा बागमती प्रदेशका अध्यक्ष सनिस श्रेष्ठ र सचिव सम्राट श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिनेछन् ।
कार्यक्रमका अध्यक्ष चितवन ग्रेडिङ समितिका संयोजक सुधिर श्रेष्ठले पछिल्लो समय चितवन र छिमेकी जिल्लामा सितोरियो सोवुकान कराते विस्तार हुँदै गएको बताए । यो सुखद पक्ष रहेको उनको भनाइ थियो ।
यसैबीच सोही कार्यक्रममा करातेकी अन्तराष्ट्रिय पदक विजेता प्रजिष्मा श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ । प्रजिष्माले अन्तराष्ट्रिय स्तरमा पाएको सफलताको उच्च मुल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष रफि अन्सारीले जानकारी दिए ।







