-पूजा परियार
चितवन, ०७९असोज १३ –
मध्यान्हको चर्को घाम, काखमा दुधे बच्चा अनि हातमा प्लास्टिकको दुई वटा झोला बोकेर उभिएकी थिइन् २६ बर्षिय रियासा खातुन नाम (परिर्वतन) ।
मौरीको घारमा भुनभुनाएजस्तै गरी भुनभुनाएका थिए मान्छेका आवाजहरु, छेवैमा उभिएको मान्छेको आवाज पनि प्रष्ट नबुझिने गरी ।
उनको आँखाहरुले त्यो भिडमा कोही खोजी रहेको थियो । त्यो भिड, त्यो कोलाहलले उनको ध्यान कत्ति पनि दाँयाबाँया गर्न सकिरहेको थिएन् ।
रियासालाई देख्दा लाग्थ्यो, उनका कानहरुले उनले खोजिरहेको मान्छेको आवाज मात्रै सुन्छ । सायद, अरु आवाज त उनले सुनिनन् होला पनि ।
एक्कासी उनको त्यो ध्यान भंग भयो, जब उनका श्रीमान भित्रबाट निस्किए । जो चितवन जिल्ला कारागारमा विगत ४ बर्षदेखि कैदी जीवन बिताइरहेका छन् ।
श्रीमान श्रीमतीको कुराकानी सुरु भयो । १० मिनेट मात्रै कुरा गर्न पाइने कारागारमा त्यहाँको भिडभाडले त्यो समयको सदुपयोग हुने अवस्था थिएन् ।
बच्चा काखमा राखेर बेन्चबाट सर्दै–सर्दै उनले श्रीमानसँग मुस्किलले ५ मिनेट मात्रै बोल्न भ्याइन् ।
त्यसपछि कारागारको चौकीदार र प्रहरीलाई आफूले ल्याएको झोलाबाट एउटा कालो रंगको टिर्सट र निलो रंगको पाइन्ट दिइन् । रियासाले भनिन्, ‘सर त्यो पाइन्टको खोल्तीमा हजार रुपैयाँ छ, त्यो पनि निकालेर दिनुस् है ।’
उनी नवलपरासीबाट कैदी जीवन बिताइरहेका आफ्ना श्रीमान्लाई दशैंको मौकामा नयाँ कपडा र केही खर्च दिउँ भनेर आएकी हुन् ।
‘मजदुरी गरेर बच्चा पाल्दै म पनि बाँचिरहेकी छु । दशैंमा सबैले राम्रो लाउँछन्, मिठो खान्छन् जेलमै भए पनि श्रीमानलाई एकजोर लुगा ल्याइदिएँ । मेरो दशैं यही हो । यसैमा खुशी छु ।’ उनले सुनाइन् ।
यतिबेला जिल्ला कारागार चितवनमा यसरी नै दशैंको लागि कारागारमा रहेका आफ्ना आफन्तलाई नयाँ कपडा, केही पैसा, खानेकुरा लगायतका सरसामान लिएर भेट्न आउनेहरुको भिड छ ।
यो भिड देख्दा लाग्छ, घरपरिवार वा सार्वजनिक जीवनमा मात्र नभई कैदीबन्दी जीवनमा समेत चाडपर्वको उल्लासमा कमी छैन् ।
सामान्यतया दैनिक ६०–७० जना भेटघाटमा आउने गरेकोमा अहिले एक सय देखि बढीको संख्यामा भेटघाटमा आउने गरेको जिल्ला कारागार चितवनले जनाएको छ ।
कारागारको दशैं :
नेपालीहरुको सबैभन्दा ठूलो चाड हो बडा दशैं । जसरी सकिन्छ त्यसरी नै खुशी भएर मनाइने यो चाड कारागारमा पनि खुशीयालीका साथ मनाउने गरिन्छ ।
विभिन्न अपराध गरेको अभियोगमा दोषी पाइएपछि बन्दी जीवन भोगिरहेका र अदालतमा मुद्दा विचाराधीन रहेका थुनुवाहरुले हर्षोउल्लासका साथ कारागार भित्रै दशैं मनाउँछन् ।
विगत १२ बर्ष देखि कारागारमै रहेका ३९ बर्षिय प्रेमलाल महतो (हाल चौकीदार) ले १० वटा दशैं त कारागार भित्रै मनाइसके । उनी पनि कैदी हुन् । तर कैदीबन्दीहरुका मध्येबाट उनी चौकिदारको भूमिकामा छन् । यस बर्ष पनि बितेका बर्ष झै कारागारमै आफ्नो श्रीमती र छोराछोरी टिका लगाउन आउने बताए ।
‘कारागार बाहिरको दशैं त कस्तो हुन्छ भन्ने पनि बिर्सिसके । परिवार यहीँ टिका लगाउन आउँछन् । त्यसैले अब त बाहिर भन्दा भित्र कै दुनियाँ आफ्नो अनि प्यारो लाग्छ ।’ उनले भने ।
यस्तै, बुटवल घर भई ७ बर्षदेखि कैदी जीवन बिताइरहेकी सबिता थापा मगरलाई पनि कारागारकै दशैं रमाइलो लाग्न थालिसकेको छ ।
दशैंमा नजिकै भएकाहरु कारागारमा रहेका आफन्तहरु भेट्न धेरैजसो आएकै हुन्छन् । तर, सबिताको भने धेरै वर्ष बिते कोही आएका छैनन् । घरतिर सासु ससुरा छन्, उनकी १३ बर्षकी छोरी भने मामाघरमा छिन् । दशैंमा उनले सबैभन्दा धेरै आफ्नो छोरीलाई याद गर्छिन् ।
‘माइती टाढा छ, उतै रमाइलो गर्छन् । अरु बेला भेट्न आए पनि दशैंमा आफ्नो छोरी भेट्न नपाउँदा मन खिन्न हुन्छ । तर पनि केही छैन्, भित्र ३ जना बच्चा छन् । यी सबै मेरै बच्चा हुन् जस्तो लाग्छ । त्यसैले मन बुझाउँछु ।’ उनले सुनाइन् ।
दशैं मनाउने तयारी :
कोरोना कहरको विगत २ बर्षपछि यस वर्ष भने कारागारमा दशैं मनाउने तयारी गरिएको छ । यस वर्ष कैदीबन्दीका एकाघरका आफन्त तथा नातेदारले कडा सुरक्षाबीच टिका तथा आशीर्वाद आदानप्रदान गर्न टिका समारोहको आयोजना गर्ने तयारी गरेको जिल्ला कारागार चितवनका सूचना अधिकृत चेतनाथ ढुङगानाले जानकारी दिए ।
उनले भने, ‘कोरोनापछि यो पटक पहिलो दशैं हो । त्यसैले कैदीबन्दीले पनि चाडपर्वलाई राम्रैसँग मनाउन सकुन् भनेर सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिँदै अन्य बेलामा भन्दा भेटघाटमा थप सहजीकरण गर्ने तयारी गरेका छौं ।’
कारागारमा प्रति व्यक्ति नगदसिदा (कैदीबन्दीलाई उपलब्ध गराइने रासन खर्च) मासिक १८०० रुपैयाँ उपलब्ध गराउने सरकारको नियम छ । दशैंमा नगदसिदा, कारागार भित्रै काम गरेर जम्मा गरेको रकम तथा घर परिवारले दिएको रकम मिलाएर सबैले एकमुष्ठ बनाइ माछामासु तथा खानाको व्यवस्थापन हुने गरेको कारागार कार्यालयका प्रमुख (जेलर) कमलप्रसाद आचार्यले बताए ।
साथै कतिपय कैदीबन्दीका कोही पनि भेटघाट गर्न नआउने हुनाले उनीहरुलाई पनि आन्तरिक प्रशासनले टिका तथा जमरा ग्रहण गर्ने व्यवस्था गरेको छ । आन्तरिक टिका ग्रहण भने जेलर कमलप्रसाद आचार्यको हातबाट लाएपछि सुरु हुने कारागारले जनाएको छ ।
श्रमता भन्दाबढी कैदीबन्दी सँधैको समस्या :
जिल्ला कारागार चितवनमा हाल ७७३ जना कैदीबन्दी रहेका छन् ।
२५ जना महिलाको क्षमता रहेकोमा ५९ जना महिला र २२५ जना पुरुष क्षमता रहेकोमा ७१४ जना पुरुष छन् ।
यस्तै, एक जना कारागारमै जन्मिएकोसहित २ जना गरी ३ जना आश्रित बालबालिका रहेको कारागारले जनाएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी हुनु चितवन जिल्ला कारागारको सँधैको समस्या हो ।
मेडिकल सिटीको रुपमा रहेको चितवनमा अन्य जिल्लाबाट उपचारको लागि भन्दै रिफर भएर आउने, मकवानपुर जिल्लाबाट सबै महिला कैदीबन्दी चितवन ल्याउने मुख्य कारणले गर्दा पनि यो समस्या सँधैको समस्याको रुपमा रहेको जिल्ला कारागार चितवनका सूचना अधिकृत ढुङगानाले जानकारी दिए ।
 
                              
                                                             
         
         
         
         
         
         
         
         
         
    
    
    
                                                                                                          
    
                                                                
    
    
    
    
    
    
    
    
                                                       
                                                       
                                                       
 
            
    
    
    
 
            
 
            
 
            
 
            
    
 
            
 
            
 
            
 
            
 
            
 
            
 
           













