कार्तिक १४,काठमाडौं–
अध्यागमन विभागले नेपाल प्रवेश गर्ने विदेशीको बारेमा गहिरो जाँचपड्ताल गर्ने र तिनका गतिविधिको सुक्ष्म निगरानी गर्ने महत्वपूर्ण कार्य ओझेलमा परेको उल्लेख गरेको छ ।
शुक्रबार प्रेस वक्तव्य जारी गर्दै विभागले भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको व्यवस्थापनकै वरिपरि मात्र अल्मलिरहेको तीतो यथार्थ रहेको उल्लेख गरेको छ ।
‘अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाई विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
अनुमान, शंका र हैसियत जाँचेर लिइने तजबिजी निर्णय र आम रुपमा जानकारी हुँदाहुँदै परीक्षण गर्न नसकिने कागजात माग गर्ने विषयका कारण भिजिट भिसामा अनियमितता हुने गरेको विभागले जनाएको छ ।
 
                              
                                                             
         
         
         
         
         
         
         
         
         
    
    
    
                                                                                                          
    
                                                                
    
    
    
    
    
    
    
    
                                                       
                                                       
                                                       
 
            
    
    
    
 
            
 
            
 
            
    
 
            
 
            
 
            
 
            
 
            
 
            
 
            
 
           













