काठमाडौँ ,माघ २६ –
अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको ४ वर्ष भइसक्दा पनि निर्माण कार्य अहिले पनि जारी छ । हालसम्म यस सडक खण्डको करिब ४५ प्रतिशत मात्रै काम सकिएको छ । बाटो विस्तारका लागि ठाउँ ठाउँमा खनिएका कारण सडक धुलामे हुने गरेको छ, जसका कारण सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।
यो सडक खण्डको निर्माण कार्य २०७९ देखि सुरु भएको भए पनि समयमै नसकिँदा ठेक्का तोड्दा काम अझ सुस्त भएको छ । दैनिक रूपमा हजारौँ मानिस ओहोरदोहोर गर्ने र काठमाडौँ प्रवेश गर्ने एक प्रमुख नाकाको रूपमा रहेको यो सडक खण्ड वरिपरि बसोबास गर्ने मानिसहरू अझै प्रभावित छन् ।
करिब १६ किलोमिटर लम्बाई रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति गर्न सुरु गरिएको हो ।साँगा–धुलिखेल (८.३ किमी)र सूर्यविनायक–साँगा (७.५ किमी) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गर्न सुरु गरिएको भए पनि काम समयमै पुरा नहुँदा थप समस्या बढ्ने पिर छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो । सडक विस्तारका लागि ७।५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८।४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सडक निर्माणको काम सुरु भएदेखि देशमा विभिन्न पार्टीका नेतृत्वमा सरकार बनेर ढले पनि यो सडक खण्डको अवस्थामा परिवर्तन आउन सकेको छैन ।
यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्याइएको छ ।









