काठमाडौँ, २१ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्लाहीको बरहथवा घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले घटनासँग सम्बन्धित सबैलाई जवाफदेही बनाउन पनि माग गरेका छन् । उनले पीडित पक्षलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
उनले भनेका छन्– ‘लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनै पर्छ । यस दुःखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त कारबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथि सम्मका सबैलाई जबाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’
बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्याको अस्पतालका विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।








