गलेश्वर, २० पुस :
झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरुको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियोपहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ । आँगन र करेसामा बोटैभरि पहेँलै भएर फलेका रसिला सुन्तला, दिउँसोको पाहारिलो घाममा बसेर खाँदै म्याग्दीको बेनी नगरपालिका–३ का ६९ वर्षीय डेकबहादुर पुनले गाउँको रौनक हराउँदै गएको कुरा सुनाउँदा झट्ट पत्याउन सकिँदैन ।
विगत एक दशकयता म्याग्दीमा बसाइँसराइका क्रम बढ्दै गएपछि पुनजस्तै धेरै जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकका छिमेकी घट्दै गएका छन् । म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधा तथा शिक्षाका लागि ठूला सहर र जिल्ला बाहिर बसाइँ सर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका हुन् ।
जिल्लाका ग्रामीण क्षेत्रसम्म विकास र पूर्वाधारको पहुँच पुगे पनि शिक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएपछि ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन्भने जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको छ ।
विसं २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकामा केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजामा ३.६७ मात्र बस्ने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको सङ्ख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीले जनाएको छ ।








