काठमाडाैं, असार १६
सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमनकुमार विक हत्या आरोपमा फरार रहेका कौसलकुमार यादव पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले नियन्त्रणमा लिएको हो ।
महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जैसवालका अनुसार यादवविरुद्ध २०७५ साउन २८ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
त्यसै बेलादेखि उनी फरार थिए । विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मीप्रसाद कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तर कोइरीले भने सफाइ पाइसकेका छन् ।
मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।








