काठमाडाैं असोज २,
राप्रपा, नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । सोमबार पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले असोज ३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रदर्शन व्यापक बनाउन पार्टीको जिल्ला कमिटी, भातृ संगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री बर्तौलाले जानकारी दिए ।
अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई संकटको दलदलमा फसाएको बताएका थिए । अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिए ।
‘यो ब्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यबस्था ल्याउनुपर्दछ’, थापाले भने।
बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले आन्दोलनमा जान जोड दिएका थिए।