– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ ११ –
चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेद्वार शंकरराज थपलियाले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
शनिबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै थपलियाले १४ बुँदे प्रतिवद्धता सार्वजनिक गरे । थपलियाले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा चितवन ३ को विकास, सुशासन, जनजीवन सुधार, निकुञ्जबाट सृजित समस्या लगायतका कुरालाई प्राथमिकतामा राखेर प्रतिवद्धता उल्लेख गरेका छन् ।
फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ । उम्मेद्वार थपलियाले चितवन ३ मा एमाले र काँग्रसकाबीच प्रतिस्पर्धा हुने बताए । रास्वपा र माओवादीसँग आफ्नो प्रतिस्पर्धा नहुने थपलियाले बताए ।
थपलियाले विषम राजनीतिक परिस्थितिका बीच हुन गइरहेको निर्वाचनलेजनताको लोकतान्त्रिक अधिकारलाई पुनः जागृत गराउने र राष्ट्रिय सार्वभौमता थप मजबुत बनाउने बताएका छन् ।
देशको केन्द्र भागमा अवस्थित र रणनीतिक महत्व बोकेको चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ संभावनमा भएर पनि विकासका दृष्टिले पछाडि परेको उनले बताए । उनी भन्छन्, ‘चितवन ३ मा पर्यटन, कृषिजन्य उद्योग, लघु उद्योग, सीमापार व्यापार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अपार सम्भावनाहरुसँगै चुनौती पनि छन् । ती सम्भावना र चुनौतीहरुलाई क्रमशः समाधान गर्दै आमजनताको चाहनाअनुसार देश र जनताको सेवकको रुपमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्नेछु ।’
उनी आफू निर्वाचित भएपश्चात चितवन ३ को विकास र जनप्रतिनिधिको रुपमा गर्नुपर्ने कामको विषयमा उनले प्रष्ट पारेका छन् ।
जसमा २०२९ मा तर्जुमा गरिएको राष्ट्रिय निकुञ्ज ऐनलाई जनमैत्री र विकासमैत्री बनाउँदै आगामी संसदबाट नयाँ ऐनको व्यवस्था गर्ने उनले बताएका छन् । त्यसैगरी मानव र वन्यजन्तुवीचको द्वन्द्वलाई न्यूनीकरण गर्दै जनताको क्षतिमा उचित र न्यायोचित क्षतिपूर्तिको व्यवस्था गरिने उनले बताए । समग्र माडी क्षेत्रको विकासका लागि वाल्मिकि आश्रम, अयोध्याधाम, पाँचपाण्डव क्षेत्र, सोमेश्वर गढी, वेदकुण्ड ताललगायतका क्षेत्रहरुलाई धार्मिक पर्यटनका साथै अन्य पूर्वाधारको समेत विकास गरिने उनको भनाइ छ ।
हुलाकी सडकका वरपर बसोबास गरिरहेका जनताको विश्वास लिएर सडकको रेखाङ्कन गर्ने उनले बताए । सडक विस्तार गर्दा अन्य वैकल्पिक सडक वा मुआब्जाको व्यवस्था गर्ने उनले बताएका छन् । नारायणी, राप्ती, रिउ लगायतका खोलानालामा थप बलियो तटबन्धन निर्माण गरी जमिन, जनता र वातावरणको संरक्षण गरिने उनले बताएका छन् ।
त्यसैगरी चितवन ३ मा बसोबास गर्ने आदिवासी, जनजाति, भूमिपुत्रहरु सिमान्तकृत थारु, बोटे, मुसहर, कुमाल र दराई बस्तीहरुको संरक्षण गर्दै सबै जातजातिको भाषा र संस्कृतिको जगेना गरिने उनले बताए ।
उनी भन्छन्, ‘ठोरी–माडी–केरुङ भारत र चीन जोड्ने अन्तरदेशीय राजमार्ग निर्माण गरी चितवनको आर्थिक समृद्धि ल्याउन सक्ने योजना निर्माणमा पहल गर्नेछु ।’
हुलाकी मार्ग जोड्ने गरी राप्ती नदीको ध्रुवमा र नारायणी नदीको मेघौलीमा पुल निर्माण गरी भैरहवा विमानस्थलसम्म छोटो दुरीमार्फत चितवनका विकासमा महत्वपूर्ण योगदान पु¥याउन पहल गर्ने उनले प्रतिवद्धता जनाएका छन् । सीतामाई, पटिहानीबाट मेघौली, गोलाघाट हुँदै नारायणी किनारै–किनार वा वरण्डाभार क्षेत्रबाट सीतामाईसम्मको अपार पर्यटनको सम्भावनालाई उजागर गर्दै यो क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्दै वृहत रुपमा रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको उनले पत्रकार सम्मेलनमा बताए ।
माडी र भरतपुरका १९ वटा वडामा मनोरम प्राकृतिक पार्कहरु निर्माण र साना ठूला घोलहरुलाई सौन्दर्यकरण गरिने उनले बताए । कृषि र पशुपालन क्षेत्रलाई विशेष प्राथमिकता दिई उत्पादनमा आधारित अनुदान, उचित समयमा मल बिउको आपूर्ति, सबै खालका सिँचाइ प्रणलीको विस्तार, कृषिमा यान्त्रिकरण, न्यूनतम र सहुलियतपूर्ण व्याज र अनुदानसहित कृषि ऋण र कृषि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापनको व्यवस्था गर्ने उनको प्रतिवद्धता छ ।
भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानको निम्ति उचित ऐन कानुनको व्यवस्था गरी शीघ्र समस्याको समाधान गर्ने, जनताको सुरक्षित आवासको अवधारणालाई अघि बढाउने साथै शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका जनताको आधारभूत आवश्यकतालाई उचित प्राथमिकता दिई समाधान गरिने उनको भनाइ छ । त्यसैगरी अन्तिम १४ नम्बर बुँदामा उनले मिटरव्याजी र सहकारी पीडित जनताको हितमा काम गरिने उल्लेख गरेका छन् ।
उनी भन्छन्, ‘उल्लेखित समस्याहरु समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै क्षेत्र नम्बर ३ र समग्र चितवनको विकासको निम्ति काम गर्ने दृढ संकल्प गर्दछु । आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी मलाई विजयी गराउनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।’







