चितवन, माघ १०-
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिस्ट पार्टीको युवा दस्ता ‘जेन्जेड रेड फोर्स नेपाल’ ले आफ्नो केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। समितिको केन्द्रीय संयोजकको महत्त्वपूर्ण जिम्मेवारी चितवन क्षेत्र नम्बर ३ का प्रभावशाली युवा नेता सुरज परियार चयन भएका छन् ।
पार्टीलाई थप मजबुत, सुदृढ र रूपान्तरण गर्दै देशमा समाजवाद स्थापना गर्ने लक्ष्यका साथ यो समिति गठन गरिएको हो। देशभरका नवयुवा पुस्तालाई राजनीतिक रूपमा सचेत र संगठित बनाउँदै निर्वाचन प्रक्रियामा निर्णायक भूमिका निर्वाह गराउने उद्देश्य यस समितिले राखेको छ।
समितिको नेतृत्वदायी टिम:
घोषित समितिमा चितवनका परियारलाई नेतृत्व सुम्पिँदै सहसंयोजकको जिम्मेवारीमा दिपक तिमल्सिना र डा. राजन झा रहनुभएको छ। त्यसैगरी, समितिको प्रमुख सचिवमा शुभाष अधिकारी चयन हुनुभएको छ।
समितिका केन्द्रीय सदस्यहरूमा श्याम सुनार, तारा लामा, बिपिसा भट्टराई, पवन सुनार र मनोज मगर रहेका छन् ।
समितिले निकट भविष्यमा थप २ जना केन्द्रीय सदस्यहरू सिफारिस गरी कमिटीलाई पूर्णता दिने बताएको छ।
युवा केन्द्रित एजेन्डा र समाजवाद:
नवनियुक्त संयोजक सुरज परियारले आगामी निर्वाचनमा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै वैज्ञानिक समाजवादको आधार तयार पार्न र पार्टीका चुनावी एजेन्डाहरूलाई जनस्तरसम्म पुर्याउन अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय राजनीतिमा युवा हस्तक्षेप बढाउँदै आउनुभएका परियारको यो नियुक्तिलाई जिल्लाका युवाहरूले उत्साहजनक रूपमा लिएका छन्।
विज्ञप्ति मार्फत ‘जेन्जेड रेड फोर्स’ ले सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, युवा तथा पार्टी कार्यकर्ताहरूलाई यस अभियानमा ऐक्यबद्धता जनाउन हार्दिक अपिल समेत गरेको छ।








