चितवन माघ ५
‘मौलिक संस्कृतिको जगेर्ना गरौँ, पन्चै नौमती बाजाको प्रवर्द्धन’ गरौं भन्ने मूल नाराका साथ नारायणी एक्स्पोस्थलमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुने भएको छ ।
पत्रकार सम्मेलन मार्फत जानकारी दिनु हुँदै नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले संस्कार र संस्कृति झल्काउन पञ्चै/नौमती बाजा प्रतियोगिता गरिएको जानकारी दिनुभयो ।
स्थानीय कला, संस्कृतिको संरक्षण र जगेर्ना गर्न प्रतियोगिता फलदायी हुने आफूहरुको विश्वास रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा नारायणी एक्स्पोको आयोजक संस्था रेड रक इभेन्टका अध्यक्ष विकल क्षेत्रीले माघ ८ गते प्रतियोगिता आयोजना गरिएको भन्दै प्रतियोगिताको संयोजक नारायणी एक्स्पोको सहआयोजक नेपाल आदिवासी जनजाति महासंघ चितवनले गरेको जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने समूहले रु २० हजार, दोस्रो हुने समूहले रु १५ हजार, तेस्रो हुने समूहले रु १० हजार तथा सान्त्वना हुने समूहले रु ५ हजारका दरले पुरस्कार पाउने क्षेत्रीको भनाइ छ । प्रतियोगितामा सहभागिता जनाउन उहाँले सबैसँग आग्रह गर्नुभएको छ ।
पञ्चै तथा नौमती बाजा बहुजातिको संस्कृतिसँग जोडिएको भन्दै क्षेत्रीले बाद्यवाधकहरुको प्रतिभालाई प्रवर्द्धन एवम् मूल्यांकन गरी नेपाली पहिचान बोकेको बाजालाई राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उद्देश्य रहेको बताउनुभयो । प्रतियोगिता माघ ८ गते बिहान १० बजेदेखि नारायणी एक्स्पो स्थलमा हुने छ।






