काठमाडौं असार ९,
साफ च्याम्पियनसिपमा नेपालले घरेलु टोली भारतलाई पहिलो हाफमा रोक्न सफल भएको छ ।
भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा दुबै टिमले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेले ।
आक्रमणको रणनीतिमा देखिएको नेपालले पहिलो हाफमा केही उत्कृष्ट ‘मुभ’ बनाउन सफल रह्यो । १८औं मिनेटमा लाकेन लिम्बुले प्रहार गरेको कर्नर भारतीय रक्षकबाट हेडर क्लियर हुँदा एरिक बिष्टले १८ यार्ड बक्सबाट गरेको भली भारतीय गोलकिपर गुरप्रित सिंहले मुश्किलले बचाए ।
३४औं मिनेटमा मनिष डांगीले राइड साइटबाट निकालेको क्रसलाई विमलले नभेट्याउँदा नेपालले गोलको अर्को सुनौलो मौका गुमायो । ३६औं मिनेटमा मनिषले नै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले गुरप्रित सिंहलाई अफ्ठ्यारोमा पार्न सकेन ।
सनिष श्रेष्ठले ४४औं मिनेटमा राइट साइडबाट गरेको क्रस आयुशले नभेट्टाउदा नेपालले अग्रताको अर्को सुनौलो मौका गुमायो ।