काठमाडाैं बैशाख १६,
एसिसी प्रिमियर कपअन्तर्गत नेपालले पहिलो सेमिफाइनल खेल आज कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ । कुवेत पनि सोही लक्ष्यमा हुनेछ । घरेलु मैदानमा जारी प्रतियोगिताको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल पुगेको हो ।
कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने नेपालले कतारलाई ६८ रनले पराजित गरेको थियो ।
नेपाल कुवेतलाई पराजित गरी फाइनल प्रवेश गरे एसिया कप छनोटको एक खुड्किलो पार गर्नेछ । कुवेतलाई पराजित गरे नेपालले फाइनलमा ओमान र युएईबीचको विजेतासँग खेल्नेछ । फाइनल जिते नेपालले भारत र पाकिस्तान सम्मिलित एसिया कप खेल्न पाउँनेछ ।
नेपाल पछिल्लो समय विश्व लीग २ देखि नै शानदार लयमा छ ।
२०१२ मा एसीसी ट्रफीमा नेपाल कुवेतसँग पराजित भएको थियो । २८१ रनको लक्ष्य दिँदा पनि नेपाल ४ विकेटले पराजित हुन पुगेको थियो । यद्यपी नेपालले युएईसँग बराबरी खेल्दै उपाधि भने अन्ततः बाँड्न पुगेको थियो ।
आजै हुने अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएई र समूह ‘ए’ को उपविजेता ओमानबीच पनि सोही समयमा प्रतिस्पर्धा हुँदै छ । यो खेल मुलपानी क्रिकेट रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।