चितवन, भदौ २९ –
भरतपुरको वीरेन्द्र क्याम्पसमा अनेरास्ववियुद्वारा आयोजित अन्तर कलेज सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको आयोजनामा बुधबारदेखि क्याम्पसको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ्ग रहेको छ भने सह–प्रायोजक त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बुहुमुखी क्याम्पस रहेको छ । मिडिया पार्टनरका रुपमा चितवन आज डटकम रहेको छ ।
प्रतियोगितामा २७ वटा टिमको सहभागीता रहेको छ । कलेजका कक्षा कक्षाबाट टिम निकालिएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले बताए ।
आज बिहान खेलको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा नेकपा एमालेका पार्टी जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, अनेरास्ववियु चितवनका अध्यक्ष अमित कुमार गुप्ता, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य देव पाठक, अनेरास्ववियु चितवनका प्रचार विभाग प्रमुख लिलाराम पौडेल, अनेरास्ववियु चितवनका पूर्व अध्यक्ष प्रकाश आचार्य, सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ‘वाइवी’, क्याम्पस प्रमुख दयाराम पौडेल लगायत प्रध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा केही विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रम सकिएपछि अहिले खेल जारी छ । बिहान ११ बजेसम्म खेल हुनेछ भने ३ घण्टा रोकिएपछि पुनः २ बजेबाट खेल सुरु हुने समय तालिका बनाइएको अध्यक्ष पौडेलले जानकारी दिए । खेल भदौ ३१ गतेसम्म चल्ने छ । भदौ २८ बाट खेल सुरु हुने भनिए पनि मौसमका कारण एकदिन ढिला गरी खेल सुरु गरिएकाले खेल प्रतियोगिता सकिन पनि एकदिन लम्बिन सक्ने पौडेलले बताए ।