नवलपुर, पुस २३
नवलपुरको कावासोती नगरपालिका–१६ डण्डामा बसभित्रै सञ्चालन हुने नविनतम डिजिटल प्रविधि सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को आयोजनामा मंगलबारदेखि सुरु भएको तालिम बिहीबारसम्म चल्नेछ ।
तालिममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल मार्केटिङ तथा डाटा एनालाइसिससम्बन्धी विषयमा नाष्टका विज्ञ प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् । प्रविधिको पहुँच कम भएका समुदायका युवाहरूलाई सूचना प्रविधिको प्रयोगमार्फत स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले तालिम आयोजना गरिएको नाष्टका वैज्ञानिक तथा प्रशिक्षक प्रदीप ढोडारीले बताए ।
डिजिटल खाडल कम गर्ने र सूचना प्रविधि शिक्षा विस्तार गर्ने लक्ष्यका साथ थारु संग्राहलयको आग्रहमा तालिम सञ्चालन गरिएको उनले जानकारी दिए । तालिममा फेसबुक मोनेटाइजेसन, बुस्टिङ, फेसबुक रिल्स तथा युट्युब सामग्रीलाई गुणस्तरीय बनाई आयआर्जनसँग जोड्ने उपायहरू सिकाइने कम्प्युटर इन्जिनियर तथा प्रशिक्षक खेमराज पोख्रेलले बताए ।
यसैगरी नयाँ–नयाँ उत्पादनको डिजिटल प्रचार–प्रसार, साइबर सुरक्षा, बैंकिङ सुरक्षा लगायतका विषयमा पनि प्रशिक्षण दिइने उनले जानकारी दिए । तालिममा थारु, माझी, मुसहर, बोटे लगायत समुदायका २० जना युवाहरूको सहभागिता रहेको छ ।
नाष्टका वैज्ञानिक ढोडारीका अनुसार सन् २०२२ देखि हालसम्म सातै प्रदेशमा १४ हजारभन्दा बढीलाई यस्ता तालिम प्रदान गरिसकिएको छ । विशेषगरी सरकारी विद्यालयका विज्ञान शिक्षक, प्रहरी तथा पछाडि पारिएका समुदायका युवाहरूलाई लक्षित गरी तालिम सञ्चालन हुँदै आएको छ ।
नाष्टका वैज्ञानिक ठकुरीका अनुसार अत्याधुनिक सुविधासहितको तालिम गाडी कोरियाली सरकारको सहयोगमा प्राप्त भएको हो । गाडीभित्र वाइफाइ, कम्प्युटर, ल्यापटप, प्रोजेक्टर, साउण्ड सिस्टम र जेनेरेटरलगायत सुविधा उपलब्ध छन् । प्रशिक्षकहरूको पारिश्रमिक नेपाल सरकारले व्यहोर्नेछ भने सहभागीहरूको आवासीय व्यवस्थापन थारु संग्राहलयले गर्ने जनाएको छ ।






