फागुन २३,भरतपुर।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा सम्हालिएर नआत्तिकन अगाडि बढ्ने बताए ।
सभापति लामिछानेले नागरिकका आम अपेक्षाका बारेमा आफू जानकार रहेको भन्दै सबैलाई समेटेर अगाडि जाने बताए । उनले जनताको अपेक्षा अनुसार काम गर्न नसके आफूहरूको अवस्था पनि अहिलेका केही दलहरूको जस्तो हुनेमा सचेत रहेको बताए । ‘आगामी बाटो सजिलो छैन, तर असम्भव पनि छैन, मात्तिएर, आत्तिएर हैन सम्हालिएर सुझबुझ तरिकाले जान्छौं,’ सभापति लामिछानेले भने, ‘फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं ।’








