चितवन, मंसिर २२ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवनको दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
हिजो शुक्रबारबाट सौराहमा सुरु भएको प्रशिक्षण कार्यक्रम आज शनिबार सम्पन्न गरिएको हो । प्रशिक्षणका क्रममा अनेरास्ववियुका जिल्ला, नगर र क्याम्पस कमिटीका गरी १०० जना विद्यार्थीहरुलाई प्रशिक्षीत गराइएको अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले जानकारी दिए ।
अध्यक्ष आचार्यका अनुसार आज शनिबारको प्रशिक्षणमा एमाले केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले नेकपा एमाले र अनेरास्ववियुको अन्तर सम्बन्धका बारेमा, एमाले केन्द्रीय सदस्य कपिल पोखरेलले माक्र्सवादी विश्व दृष्टिकोणका बारेमा, एमाले केन्द्रीय सदस्य जेएन थपलियाले जनताको बहुदलीय जनवाद (जबज)का बारेमा र एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवालीले माक्र्सवाद र माक्र्सवादी आचरणका बारेमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रमको समापन सत्रमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले मन्तव्य राखे । उनले प्रशिक्षणमा सिकेका विषयहरुबारे अझ गहिराइमा बुझ्नका लागि त्यस सम्बन्धि पुस्तक एवम् लेखहरु अध्ययन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन् । साथै अध्यक्ष पाठकले यस्ता खाले प्रशिक्षण कार्यक्रम ६ महिनामा एक पटक अनिवार्य गर्न अनेरास्ववियु चितवनलाई निर्देशनात्मक आग्रह गरेका छन् ।
हिजो शुक्रबारको प्रशिक्षणमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेको आर्थिक नीति एवम् हालसम्म नेकपा एमालेको सरकारले गरेका महत्वपूर्ण उपलब्धिहरु, पार्टी केन्द्रीय सदस्य माधव ढुंगेलले वर्तमान अवस्थामा आन्दोलनको अवसर र चुनौती एवम् विद्यार्थीको बढ्दो वैदेशिक पलायनका चुनौतीहरु, अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकायाले स्ववियुमा अनेरास्ववियुको भूमिका, एमाले केन्द्रीय सदस्य यमबहादुर परियारले चितवनमा कम्युनिष्ट आन्दोलनको इतिहासका बारेमा प्रशिक्षण दिएका थिए ।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई सचिव अमित आचार्यले सञ्चालन गरेका थिए ।
प्रशिक्षणको पहिलो दिन उद्घाटन कार्यक्रममा कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, अनेरास्ववियु केन्द्रीय सचिव सुजन कडरिया, नेकपा एमाले केन्द्रीय विभाग सदस्य ऋषिकेष रेग्मी र अनेरास्ववियु केन्द्रीय सदस्य एवम् चितवन इन्चार्ज अमित कुमार गुप्ताले मन्तव्य दिएका थिए । कार्यक्रममा प्रशिक्षण कार्यक्रममा चितवनबाट प्रतिनिधित्व गर्ने अनेरास्ववियुका केन्द्र र प्रदेश स्तरका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस् :
अनेरास्ववियु चितवनको प्रशिक्षण कार्यक्रम आजबाट सौराहमा सुरु