काठमाडौं, मंसिर २२-
सैब जैबको उत्कृष्ट ब्याटिङप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको हो । प्रतियोगितामा सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० र काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।
सुदूरपश्चिमविरुद्ध विवेक यादवबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य बन्न सकेन । विवेकले अविजित ७७ रन बनाए । उनले ५४ बलमा तीन चौका र सात छक्का प्रहार गरे । विवेक प्रतियोगितामा अर्धशतक बनाउने १२औँ ब्याटर बने ।
१९–५ को स्थितिबाट विवेकले सन्दीप जोरासँग छ्रैटौँ विकेटका निम्ति ३७ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।
लुम्बिनीले ११औँ ओभरको दोस्रो ओभरमा सन्दीपलाई गुमायो । सन्दीपले २६ बलमा एक छक्कासहित २० रन थपे । दीनेश अधिकारीले १६ बलमा दुई चौकासहित १४ रन जोडे । सूर्य तामाङले लुम्बिनीको खातामा सात रन जोडे ।
सुदूरपश्चिमविरुद्ध लुम्बिनीका तीन ब्याटर ‘गोल्डेन डक’ भए । लुम्बिनीका ओपनर अर्जुन साउद, साद बिन जफर र रेमोन सिमोन्ड्स पहिलो बलमै पभेलियन फर्किएका थिए ।