काठमाडौं, मंसिर २२ –
ओपनर सैब जैबको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको हो ।
ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८औं ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे ।
जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे । म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।