काठमाडौँ, १४ मङ्सिर :
नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी एक प्रतिशत काम आज रातीसम्म सकिने क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताउनुभयो । अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गर्नुभयो । एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी रहेको छ । बाँकी काम भने सम्पन्न भइसकेको छ ।
उक्त प्रतियोगिताको उद्घाटन खेल भोलि हुनेछ । जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गर्नुभयो ।
त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्सास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबैले जित्नको लागि नै खेल्ने हो सो हामी पनि जित्न कै लागि खेल्छौँ ।”