सोलुखुम्बु, २ चैत
सगरमाथा क्षेत्र घुम्न आएका एकजना कोरियन नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुकुम्बुले दिएको जानकारी अनुसार ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर मृत्यु भएको हो ।
बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेका थिए । ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको प्रहरीले जनाएको छ ।
हेलिकोप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।








